काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो। मुद्दामा अदालतले आजै आदेश जारी गर्ने संकेत देखिएको छ।
लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गरेकी थिइन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी कार्यालय भैरहवा, भद्रकाली प्रहरी परिसर तथा कारागार कार्यालय सिद्धार्थनगरलाई विपक्षी बनाइएको छ।
यसअघि बुटवलमा रहेको सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सो आदेशअनुसार उनी हाल रुपन्देहीको भैरहवा कारागारमा छन्।
सोमबार पेशी तय भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि आज मात्रै सुनुवाइ सम्भव भएको हो। अब अदालतको आदेशले लामिछानेको रिहाइ हुने वा नहुने विषयमा टुंगो लाग्नेछ।