काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को आयोजनामा एकदिने ‘ईन्जिनियरहरूको राष्ट्रिय सम्मेलन’ यही वैशाख ११ गते ललितपुरस्थित होटल हिमालयमा आयोजना हुँदैछ। सम्मेलनमा ५०० भन्दा बढी ईन्जिनियरहरू, नीतिनिर्माता, राजनीतिज्ञ, लगानीकर्ता, विद्यार्थी लगायतको सहभागिता रहने सिडेनका अध्यक्ष इ. लक्ष्मण केसीले जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन सत्रमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। समापन सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता रहनेछ।
सम्मेलनका तीनवटा प्राविधिक सत्रहरू सञ्चालन हुनेछन्। सत्रहरूमा हाल कायम पूर्वाधार निर्माणसँग सम्बन्धित संस्थाहरूको सुदृढीकरण र पुनर्संरचना, ऊर्जा संकट र क्षेत्रीय व्यापार, र ईन्जिनियरिङ क्षेत्रका विद्यमान समस्या तथा आवश्यक नीतिगत व्यवस्थाहरूमा केन्द्रित छलफल हुनेछ।
सिडेनका उपाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक इ. उमेश धितालका अनुसार प्राविधिक सत्रहरूमा इन्जिनियरहरू, योजनाविद्, नीतिनिर्माता तथा राजनीतिज्ञहरूको संयुक्त सहभागितामा प्रभावकारी छलफल हुनेछन्।
पहिलो सत्रमा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेलले मुख्य प्रस्तुति दिने छन्। सो सत्रमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव अर्जुनजंग थापा, तथा डा. दिपेश घिमिरे वक्ता रहनेछन्। यो सत्र पूर्वाधार निर्माणसँग सम्बन्धित संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, सुदृढीकरण र पुनर्संरचनाका आवश्यकतामा केन्द्रित हुनेछ।
दोस्रो सत्र ऊर्जा संकट र क्षेत्रीय व्यापारमा केन्द्रित हुनेछ। उक्त सत्रमा नेपाल विद्युत प्राधिकरणका पूर्व उपप्रबन्ध निर्देशक प्रवल अधिकारीले मुख्य वक्ताका रूपमा प्रस्तुति दिनेछन्। त्यस सत्रमा पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्ले, विश्लेषक अरुण कुमार सुवेदी, र स्वतन्त्र ऊर्जा उत्पादक सुमन जोशीले समेत प्रस्तुति दिनेछन्।
तेस्रो सत्रमा आईटी, परामर्शदाता, निर्माण व्यवसाय लगायतका क्षेत्रमा विद्यमान समस्याहरू र समाधानका उपायहरूबारे छलफल हुनेछ। यस सत्रमा सम्बन्धित छाता संस्थाहरूको संस्थागत प्रस्तुति रहनेछ भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय इन्जिनियरहरूको प्यानलबाट समेत छलफल गरिनेछ।
तीनवटै सत्रबाट आएका सुझावहरू र आवश्यक नीतिगत सुधारहरू समापन सत्रमा महामन्त्री गगन थापालाई हस्तान्तरण गरिने संयोजक धितालले जानकारी दिनुभयो।