काठमाडौँ । सर्लाही जिल्लाको सागरनाथ वन क्षेत्रमा निजी ताल निर्माण गरेको अभियोगमा बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ५ जना विरोधमा कानूनी कारवाही गरिएको छ। जिल्ला वन कार्यालय सर्लाहीले यी सबैलाई वन अतिक्रमणको आरोपमा जिल्ला अदालत मलंगवामा मुद्दा दायर गरेको हो।
वन कार्यालयका अनुसार, भरत थापा, लीलाकुमारी मोक्तान, तत्कालीन जिल्ला समन्वय समिति प्रमुख मिथुर चौधरी, नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र नगरपालिकाका पूर्व इन्जिनियर सागर पौडेलसहित ६ जनालाई १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
अभियोग अनुसार, बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत रहेको मुर्तिया सेक्टरको कर्मैया क्षेत्रको जग्गामा नगरपालिकाका कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा निजी ताल निर्माण गर्ने अनुमति दिइएको थियो। यसले सगरनाथ वनको ९८८.२० हेक्टर जंगल क्षेत्रको अतिक्रमण गरेको बताइएको छ।
गैरकानुनी रूपमा ताल निर्माण गरेको अभियोगमै २०८१ जेठ २९ मा निलम्बित मेयर थापा र उपमेयर मोक्तान सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन छ ।