काठमाडौं । नेपाल बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरूलाई न्यायपालिकामा सुधार प्रक्रियामा सक्रिय भूमिका खेल्न र न्यायिक बहसमा सहयोगी अधिवक्तासहित उपस्थित हुन आग्रह गरेको छ।
सर्वोच्च अदालतमा २०८१ वैशाख ९ गते नेपाल बारको नव निर्वाचित पदाधिकारीहरू र प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबीच शिष्टाचार भेट भएको थियो। उक्त भेटमा न्यायालयमा देखा परेका व्यवहारिक समस्याहरू र सुधारका आवश्यकताबारे छलफल गरिएको थियो। सोही छलफलका आधारमा नेपाल बारले वरिष्ठ अधिवक्ताहरूलाई सहयोगी अधिवक्तासहित इजलासमा उपस्थित हुन आग्रह गर्दै यस अभ्यासलाई न्यायिक प्रणालीको स्थायीत्व र आगामी पुस्ताको सशक्तीकरणका लागि महत्वपूर्ण भएको जनाएको छ।
नेपाल बारले जारी गरेको विज्ञप्तिमा न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा हालै गरिएको संशोधनमाथि पुनर्विचार गर्न अनुरोध गर्दै, वरिष्ठ अधिवक्ताहरूलाई सहयोगी अधिवक्तासहित इजलासमा उपस्थित हुने अभ्यासलाई संस्थागत बनाउनका भनिएको छ।
विज्ञप्तिमा यस अभ्यासको फाइदाबारे उल्लेख गर्दै यसले सहजीकरण मात्र होइन, युवा अधिवक्ताहरूको सीप र अनुभव सँगाल्न मद्दत पुर्याउनेछ। यसले न्यायालय र कानूनी पेशामा गुणस्तरीयता, मर्यादा र प्रभावकारिता ल्याउने विश्वास पनि व्यक्त गरिएको छ।
महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा, बारले सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूसँग उनीहरू सहयोगी अधिवक्तासहित इजलासमा उपस्थित भएर सुदृढ कानूनी संस्कृति निर्माणमा योगदान पुर्याउआग्रह गरेको छ ।