काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश जारी गरेको छ। सर्वोच्चले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गर्दै यस्तो आदेश गरेको हो ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको आदेशमा शिक्षकहरूको माग संवैधानिक र जायज रहेको स्वीकार गर्दै तिनको शीघ्र सम्बोधनका लागि सरकारलाई निर्देशन दिइएको छ।
आदेशमा भनिएको छ, “आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन–पाठन गर्ने वातावरण सुनिश्चित गर्नू।”
शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने, पुराना शिक्षकको समायोजन, स्थायीकता, पेशागत सुरक्षालगायत माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन्।
सरकार र शिक्षक संगठनबीच बारम्बार वार्ता भए पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन। यसबीचमा आन्दोलनका कारण देशभरको पठनपाठन प्रभावित हुँदै गएको छ।
सर्वोच्चको आदेशसँगै अब सरकारले आन्दोलनरत शिक्षकसँग सहमति खोज्दै, शिक्षण कार्यमा फर्काउने वातावरण बनाउन दबाब परेको छ।