नेफ्स्कुनमाथि बचत तथा ऋण कारोबार गर्न प्रतिबन्ध

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारीहरूको केन्द्रीय संघ ‘नेफ्स्कुन’लाई अबदेखि कुनै पनि प्रकारको बचत संकलन र ऋण प्रवाह गर्न नपाउने भएको छ। नेपाल राष्ट्र बैंकको २०८१ सालको निर्देशन र हालै पारित सहकारी प्रतिस्थापन ऐनले संघलाई यस्तो कारोबार गर्न निषेध गरेको हो।

राष्ट्र बैंकको निर्देशन अनुसार संघहरूलाई तरल सम्पत्तिको न्यूनतम १५ प्रतिशतको व्यवस्था, बचत संकलन निषेध, र इजाजतपत्र नभएका संस्थाले कारोबार गर्न नपाउने उल्लेख छ। यस्तै, प्रतिस्थापन ऐनले सहकारी सदस्यको बचत र ऋणको सीमा क्रमशः प्राथमिक पूँजीकोषको १० र १५ प्रतिशतसम्म निर्धारण गरेको छ।

नेफ्स्कुनले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ प्रोभिजनिङ गर्न नपुगी नक्कली नाफा देखाएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। यसका कारण संस्थाको पूँजीकोष डेढ अर्ब घाटामा पुगेको छ, जसले नेफ्स्कुनलाई आर्थिक रूपमा धराशायी बनाएको छ।

सहकारी विभागले लेखा परीक्षकको सिफारिस अनुसार सम्पूर्ण प्रोभिजनिङ गर्न निर्देशन दिएको छ भने, अबदेखि संघहरूले प्रारम्भिक सहकारी संस्था र सहकारी बैंकसँग प्रतिस्पर्धा गर्न नपाउने स्पष्ट नीति लिएको छ।

नेफ्स्कुनका अध्यक्ष चन्द्रसाद ढकालले भने आफूहरू ऋण असुली र प्रोभिजनिङमा प्राथमिकता दिइरहेको र कानुन अनुसार कारोबार सीमित गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज