काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारी गरिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘बौद्धिक सम्पत्ति दिवस’ कार्यक्रममा उनले नेपालमा मौलिकता सुरक्षित गर्न नयाँ ढंगको कानुन आवश्यक रहेको बताए।
उनका अनुसार अहिलेको कानुनले उजुरी समाधान मात्रै गर्ने भएकाले पेटेन्ट राइट सुरक्षित गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न नयाँ कानुन निर्माण जरुरी देखिएको छ। हाल समितिमा छलफलरत मस्यौदालाई उपसमिति बनाएर छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गराई संसदमा प्रस्तुत गरिने तयारी भइरहेको उनले जानकारी दिए।
मन्त्री भण्डारीले व्यवसायी, सरकार र न्यायालयबीच बौद्धिक सम्पत्तिको बुझाइ फरक भएकाले कानुनी दुविधा सिर्जना भएको बताए। साथै, विदेशी डिजाइन र पेटेन्ट नक्कल गरी वस्तु उत्पादन गर्दा नेपालका मौलिक आविष्कार र संस्कृतिसँग जोडिएका बौद्धिक सम्पत्तिहरू पछि परेको उल्लेख गरे।
उनले पूर्खाबाट प्राप्त बौद्धिक सम्पत्ति सुरक्षित गर्नेतर्फ अझै पर्याप्त ध्यान नदिइएको र पेटेन्ट दर्ता तथा नविकरण नगर्दा समस्या भएको बताए।