कांग्रेस सांसद माया राईमाथि सहकारी ठगीको कसुरमा अनुसन्धान, कति हुन्छ सजाय ?

काठमाडौं । कांग्रेस सांसद माया राईमाथि सहकारी ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धानको कार्यालयले राईलाई आफ्नै घरबाट पक्राउ गरेर अनुसन्धान सुरु गरेको हाे ।

काठमाडौंको कपनस्थित घरबाट उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । राइलाइ आजै अदालतमा पेश गर्ने र अनुसन्धानकाे लागि समय लिने भएको छ ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

कांग्रेसकी केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।

मुद्दा अभियोजन हुँदा मुख्य अभियुक्त जीबी राईसहित ३४ जना फरार थिए । स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । त्यतिबेला राईलाई भने प्रतिवादी बनाइएको थिएन ।

पछि सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । राई १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । यस्तै, अर्का अभियुक्त जोशीलाई पनि ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज