काठमाडौं । राप्रपा नेता रविन्द्र मिश्र र राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जना व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए। सरकारी वकिलको कार्यालयले प्रारम्भिक अनुसन्धानका लागि २० दिनको म्याद माग गरे पनि अदालतले ७ दिन मात्र म्याद थप गर्ने निर्णय गरेको हो।
यसअघि १० वैशाखमा पनि उनीहरूलाई ३ दिनको म्याद थप गरिएको थियो। अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको बयान प्रक्रिया जारी रहेको उल्लेख गर्दै, यदि थप प्रमाण फेला नपरेमा तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो। तर, प्रहरीले अझै अनुसन्धान बाँकी रहेको भन्दै पुनः म्याद थपको प्रस्ताव गरेको थियो।
इजलासमा मिश्रले प्रहरीद्वारा अश्रुग्यास प्रहार भएपछि आफू केही आवेगमा आएको स्वीकार गरेका थिए। तर, ढुंगामुढा वा तोडफोडमा आफू संलग्न नभएको स्पष्ट पारेका थिए।
स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै मिश्र र प्रसाईंले हाजिर जमानतमा छाड्न निवेदन दिएका थिए, तर अदालतले अनुसन्धानको आवश्यकता देखाउँदै हिरासत अवधि थप गरेको हो।
प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहसम्बन्धी मुद्दा दर्ता गरिएको छ भने मिश्रविरुद्ध राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ। मिश्र १५ वैशाखमा पक्राउ परेका थिए भने प्रसाईंलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।
यसअघि सोही प्रदर्शनमा संलग्न देखिएका सांसद धवलशमशेर राणालाई भने स्वास्थ्य समस्या देखाउँदै प्रहरीले एक साताअघि रिहा गरेको थियो।