काठमाडौं । अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ जनालाई पक्राउ गरेको छ । विभिन्न ११ जिल्लाबाट पक्राउ परेका उनीहरूलाई सीआईबीले सोमबार सार्वजनिक गरेको हो।
सीआईबीका अनुसार, पक्राउ परेकाहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेका छन्। भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली जस्ता क्रियाकलापमार्फत उनीहरूले गैरकानुनी रकम आर्जन गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, अवैध कारोबारबाट आर्जित रकमलाई डिजिटल वालेट कम्पनीहरूको खातामा जम्मा गरी वैध देखाउने प्रयास गरिएको थियो। साथै, मनी ट्रान्सफर कम्पनीमार्फत इ-मनी बनाएर रेमिटेन्स भुक्तानीजस्तो देखाई रकम सेतो बनाउने गतिविधिमा समेत संलग्न रहेको प्रहरीको दाबी छ।
पक्राउ परेका व्यक्तिहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन र वीरगञ्ज क्षेत्रका छन्।
विशेषगरी पक्राउ परेकाहरूमा वीरेन्द्रप्रसाद साह, दीपेन्द्रप्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो, प्रदीपकुमार साह, राजकमल लोनिया, भीमकुमार गुरुङ, रामविलास साह तेली, ममता कुमारी, बिकर्णजंग राणा, गणपति पाण्डे, सलमा खातुन, सुशीलाकुमार साहु, गोविन्दप्रसाद आचार्य र शम्भु मेहता छन् ।