सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक रूपले उल्ट्याएको छ। अदालतले २३ जनालाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ भने जातीय भेदभावसम्बन्धी सजाय बदर गरेको हो।
उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सो फैसलामा जन्मकैदको निर्णयलाई यथावत राख्दै जातीय विभेदमा थपिएको कैद तथा जरिवाना खारेज गरेको हो।
“जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय दिएको थियो, जुन उच्च अदालतले सदर गर्यो। तर जातीय भेदभावमा थपिएको दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना बदर गरिएको छ,” उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए।
जन्मकैदको सजाय पाउनेमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा (परिवर्तित नाम ‘५४ रूकुम पश्चिम ३६’ (१)) र दाजु (परिवर्तित नाम ‘५४ रूकुम पश्चिम ३६’ (३)) छन्।
२०७७ साल जेठ १० गते घटेको घटनालाई ‘जातीय नरसंहार’को रूपमा लिइएको थियो। सो दिन नवराज विक आफ्नी प्रेमिकालाई विवाह गर्न भेरी नगरपालिका–४ बाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँ पुगेका थिए। तर सोती गाउँका स्थानीयहरूले उनीसहित गएका युवकहरूलाई कुटपिट गरी भेरी नदीमा धकेलेका थिए। घटनामा नवराजसहित गणेश बुढामगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको मृत्यु भएको थियो।
घटनापछि मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। थप अनुसन्धानपछि ३४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
२०८० मंसिरमा जिल्ला अदालतले २३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। तीमध्ये नवराजकी प्रेमिका र उनकी आमा–भाइलाई जातीय विभेदसम्बन्धी मुद्दामा सजाय दिइएको थियो, तर उच्च अदालतले त्यो खारेज गरिदिएको हो।
उक्त फैसलाको पूर्णपाठ आउन बाँकी छ।