मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २(ञ) मा उल्लेख भए बमोजिम कुनै विषमा आफ्नो हक हित वा सरोकार कायम गर्न वा दावी कार्यान्वयन गर्न माग गरी पेश गरेको उजुरी, नालिस, दावी वा निवेदनपत्र सम्झनु पर्छ । र सो शब्दले फिरादपत्र सरहको बयान वा प्रतिउत्तरपत्रमा उल्लेख गरिएको प्रतिदावी समेतलाई जनाउछ । ऐ. दफा ९५ बमोजिम अनुसुची-१ को ढाँचामा फिरादपत्र तयार गर्नु पर्दछ ।
१. फिरादपत्र जुन जिल्ला अदालतमा दायर गर्न लागेको हो फिरादपत्रको सवै भन्दा माथि सो जिल्ला अदालतको नाम लेख्ने ।
२. फिरादपत्र दाएर गर्न लागेको वादीको तिन पुस्ते विवरण, ठेगाना र सम्पर्क नम्वर उल्लेख गर्ने।
३. फिरादपत्रमा बिपक्षी बनाउन लागेको प्रतिवादीको तिन पुस्ते विवरण, ठेगाना र सम्पर्क नम्वर उल्लेख गर्ने ।
४. कुन विषयमा मुद्दा गर्न लागेको हो मुद्दाको नाम लेख्ने ।
५. आफुलाई जुन विषयमा मर्का परी फिरादपत्र दायर गर्न लागेको हो सो सम्वन्धमा फिरादको विषयवस्तु सम्वन्धमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ८५, ८६, ८७, ८८, ८९, ८९, ९०, ९१, ९२, ९३, ९६ बमोजिम दाबी गर्ने आधार र फिराद दाबी उल्लेख गर्ने ।
६. आफुले दायर गर्न लागेको फिरादपत्रको हकदैया यसै जिल्ला अदालतको अधिकार क्षेत्र भित्र पर्दछ भनि न्याय प्रशासन ऐन, २०७४ को दफा ७, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १६, १७, १८, १९, २०, २१, २३ २४, २५, २६¬ को कानूनी ब्यवस्था बमोजिम रहेको ब्यहोरा उल्लेख गर्ने ।
७. प्रस्तुत फिराद पत्र दाएर गर्न मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४७, ४८, ४९, ५०, ५१, ५२, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२¬ बमोजिम हदम्याद भएको ब्यहोरा उल्लेख गर्ने ।
८. प्रस्तुत फिरादपत्रमा उल्लेखित ब्यहोरा राखि अन्यत्र फिराद गरे नगरेको ब्यहोरा उल्लेख गर्ने ।
९. प्रतिवादीलाई म्याद आफैले तामेल गर्ने हो वा अदालत बाट तामेल गर्न लगाउने हो सो ब्यहोरा खुलाउनु पर्ने ।
१०. फिरापत्र दर्ता गर्दा नै कानून व्यवसायी राखे नराखेको ब्यहोरा खुलाउने । यदि राखेको भए कानून व्यवसायीको नाम र प्रमाण पत्र नम्वर उल्लेख गर्ने ।
११. फिराद पत्र दस्तुर दुई सय रुपैयाँ (मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९७) र त्यसको प्रकृति बमोजिम लाल्ने अन्य अदालति दस्तुर( मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ६३, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०) समेत गरी जम्मा कति दस्तुर बुझाएको हो सो ब्यहोरा उल्लेख गर्ने ।
१२. फिराद पत्रको दावीलाई पुष्टि गर्ने प्रमाणहरु उल्लेख गर्ने ।
१३. फिराद पत्र संग सम्वन्धित प्रमाण तथा कागजातको प्रतिलिपिहरु उल्लेख गर्ने ।
१४. फिरादपत्रमा उल्लेख भएको विषयका बारेमा जानकारी राख्ने कम्तिमा २ जना साक्षीहरुको तिन पुस्ते विवरण, नागरिकतामा खुल्ने ठेगाना र नारिकता नम्बर समेत उल्लेख गर्ने ।
१५. फिरादपत्रमा उल्लेख भएको ब्यहोरा ठीक साँचो रहेको र झुट्टा ठहरीएमा त्यस बापत कानून बमोजिमको दायित्व लिन तयार रहेको प्रतिवद्धता उल्लेख गर्ने ।
१६. फिराद पत्रवाला प्राकृतिक ब्यक्ति भएमा सहि दस्तखत गराउने ।
१७. फिराद पत्रवाला सङ्गठित संस्था(कानूनी ब्यक्ति) भएमा संस्थाको छाप लगाउने ।
१८. सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र दिँदा त्यस्तो संस्थाको नाम तथा ठेगाना र त्यस्तो संस्थाको तर्फबाट फिरादपत्र दिन अधिकार पाएको व्यक्तिको नाम, थर र पद उल्लेख गर्नु पर्नेछ ।
१९. सङ्गठित संस्थाको संचालक समितिले माईन्युट गरी फिरादपत्र गर्ने अख्तियारी दिएको माईन्युट र अख्तियारीनामा समेत पेश गर्ने ।
२०. अन्तिममा फिरादपत्र दर्ता गर्ने साल महिना गते र बार उल्लेख गर्ने ।