प्रतिउत्तर तयारी सम्बन्धी कार्यविधि


मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २ (छ) मा उल्लेख भए बमोजिम प्रतिउत्तरपत्र भन्नाले फिरादपत्रको दाबी स्वीकार वा इन्कार गरी अदालतमा पेश गरेको लिखित जवाफ सम्झनु पर्छ र सो शब्दले प्रतिउत्तरपत्र सरहको बयान समेतलाई जनाउँछ । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२० बमोजिम प्रतिउत्तरपत्र तयार गर्दा अनुसूची –९ मा तोकिएको ढाँचामा तयार गर्नु पर्दछ ।
१.    प्रतिउत्तरपत्र जुन जिल्ला अदालतमा दायर गर्न लागेको हो सो जिल्ला अदालतको नाम प्रतिउत्तरपत्रको सबै भन्दा माथि उल्लेख गर्ने ।
२.     प्रतिउत्तरमा मुद्दा नम्बर खुलाउने ।
३.     प्रतिउत्तरपत्र दाएर गर्न लागेको प्रतिवादीको तिन पुस्ते विवरण, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने ।
४.     प्रतिउत्तर पत्रमा विपक्षी बनाउन लागेको फिरादी / वादीको तिन पुस्ते विवरण, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने ।
५.     कुन मुद्दाको प्रतिउत्तर दायर गर्न लागेको हो सो मुद्दाको नाम उल्लेख गर्ने ।
६.     प्रतिउत्तर पत्रवालाले आफैंलाई विपक्षी बनाई दायर गरेको मुद्दामा जारी भएको २१ दिने म्याद निजले कहिले प्राप्त गरेको हो उक्त ब्यहोरा खुलाई फिरादपत्रमा दाबी लिएका विषयहरूमा आफ्नो प्रतिउत्तर पत्रमा खुलाई ऐ. दफा ११९ अनुसार म्याद बुझेको २१ दिन भित्र अदालतमा प्रतिउत्तरपत्र दायर गर्नु पर्नेमा सो म्याद गुज्रन गएमा ऐ. दफा २२३ बमोजिम गुज्रेको म्याद थामि पाउन निवेदन समेत दायर गरी थपिएको १५ दिन समेत गरी जम्मा ३६ दिन भित्रमा प्रतिउत्तरपत्र दायर गरि सक्नु पर्नेछ । अन्यथा अदालतले प्रतिउत्तर पत्र स्वीकार गर्ने छैन ।
७.     प्रतिउत्तरपत्र दायर गर्दा फिरादीले फिरादपत्रमा दाबी गरेको विषय अस्वीकार गरेको, आंशिक स्वीकार गरेको वा पूर्णरुपमा स्वीकार गरेको ब्यहोरा उल्लेख गर्ने । फिराद दाबी आंशिक रुपमा स्वीकार गरेको भए स्वीकार गरेको आधार र कारण उल्लेख गर्ने ।
८.    फिराद दाबीको सम्बन्धमा कुनै प्रतिदाबी भए ऐ. दफा १२१ बमोजिम प्रतिदाबी पेश गर्ने ।
९.    फरादीले फिरादपत्र दायर गर्दा न्याय प्रशासन ऐन, २०७४ को दफा ७, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १६, १७, १८, १९, २०, २१, २३ २४, २५, २६ बमोजिम अदालतको क्षेत्र अधिकार साथै मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२ बमोजिम हदम्याद र कानून बमोजिम हकदैयाको कानूनी ब्यवस्था पालना नगरेको भएमा जिकिर लिई त्यसको आधार कारण उल्लेख गर्ने ।
१०.    फिरादपत्र दाएर गर्दा हकदैया, हदम्याद वा अधिकारक्षेत्र नभएको अवस्थामा फिरादपत्र दर्ता गरेको भए सो को जिकिर लिई ऐ. दफा १३१ र १३२ बमोजिम प्रारम्भिक सुनवाई मार्फत मुद्दा खारेजीको माग गर्न सकिने कानूनी ब्यवस्था रहेको छ ।
११.    फिराद दाबी अनुसार अदालतबाट निर्णय हुनु पर्ने वा होइन प्रतिउत्तर पत्रमा खुलाउने ।
१२.     प्रतिउत्तरपत्र दर्ता गर्दा नै कानून व्यवसायी राखे नराखेको ब्यहोरा खुलाउने । यदि राखेको भए कानून व्यवसायीको नाम र प्रमाण पत्र नम्बर उल्लेख गर्ने ।
१३.    प्रतिउत्तर दस्तुर दुई सय रुपैयाँ ( मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२५ ) बुझाएको  ब्यहोरा उल्लेख गर्नुपर्दछ ।
१४.    प्रतिउत्तर दावीलाई पुष्टि गर्ने प्रमाणहरू र प्रतिउत्तरसँग सम्बन्धित प्रमाण तथा कागजातको प्रतिलिपिहरू उल्लेख गर्ने ।
१५.    विवादित विषयमा जानकार साक्षीहरूको विवरण खुलाउने ।
१६.    प्रतिउत्तर पत्रमा लेखिएको ब्यहोरा साँचो रहेको, झूटा ठहरेमा कानून बमोजिम हुने तथ्य स्वीकार गरेको हुनुपर्ने ।
१७.    प्रतिउत्तर पत्रवाला प्राकृतिक व्यक्ति भएमा सही दस्तखत गराउने वा सङ्गठित संस्था ( कानूनी व्यक्ति ) भएमा संस्थाको छाप लगाउने ।
१८.    सङ्गठित संस्थाको तर्फबाट प्रतिउत्तरपत्र दिँदा त्यस्तो संस्थाको नाम तथा ठेगाना र त्यस्तो संस्थाको तर्फबाट प्रतिउत्तरपत्र दिन अधिकार पाएको व्यक्तिको नाम, थर र पद उल्लेख गर्नु पर्नेछ ।
१९.    सङ्गठित संस्थाको तर्फबाट प्रतिउत्तरपत्र दर्ता गरी तारेखमा रहने ब्यक्तिलाई अख्तियारी दिएको माइन्यूट र अख्तियारनामा समेत पेश गर्नु पर्दछ ।
२०.    अन्तिममा प्रतिउत्तरपत्र दर्ता गर्ने साल महिना गते र बार उल्लेख गर्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज