काठमाडौं l पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो ।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जीबीविरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे । ‘नोटिस जारी भएर आएको छ । योसँगै नोटिस जारी भएका व्यक्ति इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा समेटिएका छन् ।’