उक्त सहकारीमा मात्र १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताले गत बिहीबार पोखरामा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै भेटेर ज्ञापनपत्र बुझाए । सहकारी अपचलनमा संलग्नलाई कानुनको दायरामा ल्याएर रकम फिर्ता गर्ने वातावरण बनाइदिन उनीहरूले गृहमन्त्रीसँग माग गरे । यसअघि मंगलबार पोखरा आएका कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पनि ज्ञापनपत्र बुझाएका थिए ।
गत साउनमा सूर्यदर्शनका एक हजार ३५ बचतकर्ताले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ बिगो दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनमा सहकारी संस्थाबाट ठगी भएको पीडितको संख्या १८ हजार ७ सय र रकम १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ उल्लेख छ । सहकारीको सञ्चालक समितिका पूर्व र वर्तमान पदाधिकारी, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।