काठमाडौं । पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी योभन्दा बढी हुन सक्ने जानकार बताउँछन् ।
ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका लागि बचत संकलन गर्न उपत्यकाका विभिन्न ठाउँमा शाखा खोलेको थियो । स्वर्णलक्ष्मीका शाखाबाट मात्रै करिब १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको पीडित बचतकर्ताको भनाइ छ ।