चौधरीमाथिको अनुसन्धान २ दिनमा नसके जमानीमा छाड्न आदेश

काठमाडौं । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न अदालतले आदेश गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायणसिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धानका लागि अदालतले सुरुमा ४ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले सोमबार दुई दिन म्याद थपको अनुमति पाएको हो । ‘दुई दिनका लागि म्याद थपिएको छ, दुई दिनमा नसकिए जमानीमा छोड्नू भन्ने छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले भने ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा प्रयोग गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको सीआईबीको दाबी छ ।

२०२२ साल साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको बाँसबारी छाला जुत्ता कम्पनी जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो ।

रकमको सट्टा उद्योगले च्याम्पियनको सेयर प्राप्त गरेको थियो । सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने भए पनि सञ्चालक समितिले नै त्यस्तो निर्णय गरेकामा कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको हो ।

बाँसबारीको ८३ रोपनीमध्ये १० रोपनी जग्गा च्याम्पियन हुँदै चौधरी समूहमा गएपछि बाँकीमध्ये ५२ रोपनी जग्गा २०५२ भदौमा गंगालाल अस्पतालका लागि छुट्याइएको थियो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय र बाँसबारी क्लबले पनि बाँसबारीको जग्गा भोगचलन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज