अन्तरजातीय विवाह गर्ने दलित युवालाई झुटा मुद्दा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३, बगवान टोलका श्रीलाल पासवानले करिव तीन वर्षअघि छिमेकी सुइता विश्वाससंग प्रेम विवाह गरे । बिहे भएको दुई साता बित्न नपाउँदै केटी पक्षले नाबालिग छोरी बिहे गरेको भन्दै पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बालविवाह मुद्दा दर्ता गराए ।

जोहेरीपछि पासवानलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गर्‍यो । पासवानलाई प्रहरीले पक्राउ गरेपछि सुइतालाई परिवारले जिम्मा बुझेर घर लग्यो ।

‘छोरालाई बालविवाह मुद्दा लगाए । अनि परिवारले छोरी छुटाएर लगे,’ श्रीलालका बुवा मोहनलालले कान्तिपुरसँग भने, ‘अन्तरजातीय बिहे गरेकै कारण प्रहरीले छोरालाई २२ दिनसम्म प्रहरी हिरासतमा थुनेर राख्यो।’

पक्राउ परेको २३ औँ दिनमा श्रीलाल जिल्ला अदालतको आदेशमा एक लाख धरौटी बुझाएर छुटे । श्रीलालका बुवा मोहनलाल सिटी रिक्सा चलाएर परिवारको गर्जो टार्छन् । सुकुम्वासी परिवारका उनले ऋण खोजेर अदालतको धरौटी रकम बुझाएका थिए ।

अदालतबाट छुटेको केही दिनपछि श्रीलाल–सुइताको पुर्नमिलन भयो । उनीहरुले फेरि भागेर विवाह गरे । त्यो वेला भने उनीहरुको ठाउँ–ठेगानाबारे न परिवारले सुइको पायो, नत प्रहरीले नै ।

त्यसपछि केटीकी आमा रेखा विश्वासले श्रीलाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा दोश्रो पटक मुद्दा दर्ता गरिन् । उनले श्रीलालविरुद्ध मानव अपहरण तथा बन्धक शीर्षकको झुटो मुद्दा दर्ता गरेपछि प्रहरीले खोजी तीव्र पार्‍यो।

एकातिर प्रहरीमा मुद्दा, अर्कोतिर आफ्नै आफन्तबाट तडप । श्रीलाल र सुइता परिवार र समाजबाट अलग भएर विस्थापित जीवन बिताउन बाध्य भए । दुई वर्षपछि बल्ल उनीहरु गाउँ फर्किए- काखमा डेढ वर्षको बच्चा च्यापेर ।

प्रहरीको खोजी सूचीमा रहेका उनलाई घर फर्किए लगत्तै प्रहरीले पक्राउ गर्ने धम्की दिइरह्यो । श्रीलालकी श्रीमती सुइताले अदालत पुगेर ‘आफूले राजीखुसी बिहे गरेको’ भनी बयान पनि दिइसकिन् । तर, पनि उनलाई प्रहरीले बारम्बार सास्ती दिइरहेको बुवा मोहनलालले गुनासो गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले कानुनी प्रक्रिया पुरा गर्नका लागि बयान बाँकी रहेकाले श्रीलाललाई बोलाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज