विद्यालय क्षेत्रमा मेला सञ्चालन नगर्न सुर्खेत उच्च अदालतको अन्तरिम आदेश

सुर्खेत । सुर्खेत उच्च अदालतले विद्यालय आसपासमा मेला महोत्सव सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश माधव धितालको इजलासले फागुन १४ गतेदेखि सुरु हुन लागेको तेस्रो ‘कर्णाली एक्सपो २०८०’ विद्यालय आसपासमा नचलाउन अन्तरिम आदेश दिएको हो ।
अदालतले फागुन १४ गते दुबै पक्षलाई पेसी तारेख तोक्दै अन्तरिम आदेशका लागि छलफल बोलाएको छ ।

बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई मध्यनजर गर्दै फागुन १४ गतेसम्म मेला सम्बन्धी गतिविधि नगर्नु र नगराउनु भनी मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिकालगायतका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

अधिवक्ता प्रकाशबावु ऐडीले महोत्सव सञ्चालन हुने मैदानको आडैमा रहेको बाल मन्दिर विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भन्दै बिहीबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उनले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र उद्योग वाणिज्य संघ सुर्खेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

शुक्रबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता भूषण कुमार मानन्धर, अधिवक्ता गीता कुमारी कोइराला, दुर्गाप्रसाद सापकोटा र रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडीले बहस गरेका थिए । एक्सपो सञ्चालन हुने स्थानबाट १० मिटरको दूरीमा बाल मन्दिर विद्यालय रहेको र चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन लागेकोमा परीक्षाको मुखैमा विद्यालय क्षेत्र मानै कर्णाली एक्सपो सञ्चालन हुन लागेको भन्ने रिट निवेदनबाट देखिएको छ ।

आदेशमा भनिएको छ, ‘बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारसमेतलाई मध्यनजर गर्दै फागुन १३ गतेसम्मका लागि कर्णाली एक्सपो सञ्चालन सम्बन्धी कार्य नगर्नुरनगराउनु, यथास्थितिमा राख्नु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।’

उक्त बाल मन्दिर विद्यालयमा कक्षा एकदेखि पाँचसम्म १ सय १० जना बालबालिका अध्ययन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज