गोली प्रहार गरेर रकम माग्ने तीन जना पुर्पक्षका लागि थुनामा

हेटौंडा । गोली प्रहार गरेर रकम मागेको आरोपमा जिल्ला अदालत मकवानपुरले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरी रकम मागेको आरोपमा स्थानीय ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंसिर १९ गते राति गोली प्रहार गरी २० गते फिरौती माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेस गरेको थियो । जिल्ला न्यायाधीश मनकुमारी जिएमको मंगलबार बसेको इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेलसँग एक करोड रुपैयाँ माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो । हेटौंडा ९ मा घर भए पनि हेटौंडा ४ मा पौडेल डेरा लिएर बसेका थिए । लागूऔषध समेत कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ नगद बरामद गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागूऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज