सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरूले प्रश्न गर्ने मौका पाएको बताएका छन् । संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानुन नबन्दा संघीयतामाथि प्रश्न गर्नेहरूले मौका पाइरहेको उनको भनाइ थियो ।
संघीयतामाथि उठेका प्रश्नको जवाफ कानुन निर्माण गरेर दिनुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्स्पोको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले चाँडै आवश्यक कानुन बनाएर संघीयता कार्यान्वयनमा लैजाने बताए ।
‘संविधान जारी भएसँगै बन्नुपर्ने आवश्यक कानुन निर्माण नहुँदा प्रदेश र स्थानीय तहले आवश्यक अधिकार प्रयोग गर्न पाएका छैनन् । यहीँ कारण संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि प्रश्न गर्नेहरुले मौका पाइरहेका छन्,’ उनले भने, ‘चाँडै कानुन निर्माण गरेर संघीयता कार्यान्वयनका लागि वर्तमान सरकार क्रियाशील भएर लागेको छ ।’
विगतमा दुई तिहाई मत प्राप्त सरकारले संघीयता कार्यान्वयनमा चुकेको भन्दै वर्तमान सरकारलाई त्यो छुट नभएको खड्काको भनाइ थियो । उनले भने, ‘जनतालाई सेवा दिने र देशलाई समृद्ध बनाउने विषयमा राजनीतिक दलबीच मतभेद छैन, सबैको लक्ष्य एउटै हो ।’
उपप्रधानमन्त्री खड्काले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको बताउँदै चाँडै यसले पूर्णता पाउने समेत उल्लेख गरेका थिए । निजामति सेवा ऐन संशोधनको प्रक्रियामा पनि रहेको साथै हिउँदे अधिवेशनमा संघीयतासँग जोडिएका अधिकांश कानुन संसद्मा दर्ता गर्ने गरेर सरकारले कानुन निर्माण गरिरहेको उनले बताए ।