बागलुङ । सहकारी ठगी आरोपमा जिल्ला अदालत पर्वतले सदरमुकाम कुश्मा बजारको ‘माता पाथीभरा सहकारी संस्था’का अध्यक्ष किशोर श्रेष्ठ र कम्प्युटर सफ्टवेयर डेभलपर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
सहकारी ठगीको प्रकृति हेर्दा ३ वर्षभन्दा बढी जेल सजाय हुने कसुर देखिएकोले फागुन १५ गतेको आदेशले धरौटीमा निस्कन नपाइने गरी पुर्पक्षमा पठाइएको जिल्ला अदालतका श्रेस्तेदार राजु ढुंगानाले बताए । न्यायाधीश विद्याराज पौडेलको इजलासले दुवै जनालाई पुर्पक्ष पठाएको हो ।
बचतकर्ताको ११ करोड, ११ लाख, ९० हजार ३ सय २२ रुपैयाँ हिनामिना गरेको उनीहरुलाई आरोप लागेको हो । श्रेष्ठविरुद्ध यसअघि पर्वतकै ‘तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’का संचालकले रकम हिनामिना गरेको उजुरीमा समेत पक्राउ आदेश थियो । गत पुसमा उनी पक्राउ परेर २ लाख धरौटीमा रिहाइ भएका थिए । उक्त सहकारीमा उनकै दाजु बालगोपाल श्रेष्ठ अध्यक्ष थिए । भाइ संचालकमात्रै देखिएकोले धरौटीमा छुटेका श्रेष्ठ आफै अध्यक्ष रहेको सहकारी ठगीमा जेल चलान भएका हुन् । दाजु बालगोपालले भने २९ करोड हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । उनी हाल अस्ट्रेलिया पुगेर लुकेको पीडितले बताए ।
पीडित सकुन्तलाकुमारी श्रेष्ठसहितको जाहेरीले श्रेष्ठ पक्राउ परेका थिए । सोही जाहेरीले बालगोपाल श्रेष्ठसहित २२ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा श्रेष्ठ फरार छन् ।
बागलुङको जैमिनी १ घर भई कुश्मा बस्ने लक्ष्मीदेवी शर्माको जाहेरीले ग्रामीण कृषि विकास सहकारी संस्थाका अध्यक्ष लेखानाथ शर्मा भने गत पुसमै पक्राउ परी पुर्पक्षमा परिसकेका छन् । शर्माले मात्रै १ करोड ९५ लाख रुपैयाँ बचत र शेयर रकमसमेत हिनामिना पारिसकेको पुष्टि भएको हो । २०७९ वैशाख १६ गते शर्माले मात्रै १ करोड ९५ लाख रुपैयाँ घर खर्च चलाउन भनेर लगेको सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययनमा उल्लेख छ ।