पछिल्ला केही वर्षयता प्रविधिको विकाससँगै यसको पहुँच र प्रभाव पनि निकै बढेको छ । यसले सत्य तथ्य सूचनाको पहुँचको आवश्यकता र महत्वलाई समेत बढाएको छ । नागरिकलाई यस्ता सूचना दिने कार्यमा आमसञ्चार माध्यममले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । छापा र विद्युतीय हुँदै अहिले सञ्चार माध्यम डिजिटल प्रविधिमा प्रवेश गरेको छ । बदलिदो समयसँगै बदलिएको सञ्चार माध्यमको प्रकृतिले नागरिकलाई सूचनाको पहुँचमा सहजता ल्याएको छ । योसँगै अनलाइन सञ्चार माध्यमको विकासले पनि फड्को मारेको छ । ठूलो सङ्ख्यामा अनलाइन सञ्चार माध्यम सञ्चालनमा आएका छन् । विधागत पत्रकारिताले निकै गतिलिएको छ । तर संख्यात्मक रुपमा अनलाइन सञ्चार माध्यम धेरै देखिए पनि ती सञ्चार माध्यमले सबै विधालाई समेट्न सकेका छैनन् । खासगरी कानुनी क्षेत्रमा विधागत पत्रकारिताले अहिले सम्म स्थापित हुने अवसर पाएको छैन । त्यसैले कानुनी विषयका समाचार सामग्रीलाई प्राथमिकता दिने र नागरिकलाई सुसूचित गराउने उद्देश्यले हामीले कानुन खबर डट कम आजबाट विधिवत रुपमा शुरु गरेका छौं ।
छिटो सूचना दिने होडबाजीले कतिपय सञ्चार माध्यम सही सूचना दिनबाट चुकिरहेको अवस्था छ । यसले अहिले अनलाइन सञ्चार माध्यमबाट आउने सूचना सामग्रीको विश्वसनियता र सत्यता माथि प्रश्न चिन्ह खडा गरिरहेको छ । यो चुनौतीपूर्ण समयमा हामीले कानून सम्बन्धी सूचना समाचारलाई प्राथमिकता दिनेछौं ।
कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने सर्वमान्य कानूनी सिद्धान्त रहेको छ । त्यसैले, देशका सवै नागरिक कानूनको बारेमा जानकार हुनु पर्दछ भन्ने मान्यता छ । विधायिकाले कानून निर्माण गरी जनतालाई जानकारी दिएर मात्र कार्यान्वयनमा ल्याउनु पर्ने ब्यवस्था गरिएको हुन्छ । त्यसैले, देशको संविधान तथा कानून निर्माण गर्दा सबै सरोकारवाला पक्षहरूसँग दफावार छलफल गरेरमात्र कानून निर्माण गरिन्छ ।
न्यायालयको निष्पक्षताले देशको सभ्यता स्तर निर्धारण गर्दछ । त्यसैले सरकारका सबै अंग विकृत भइसक्दा समेत न्यायालय जनताको अन्तिम भरोसाको केन्द्रमा रहेको हुन्छ । व्यवस्थापिका र कार्यपालिकामा जतिसुकै बेथिति हुँदा समेत जनताको आस्था र भरोसाको रुपमा रहेको न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको छ । यो निकै चिन्ताको विषय बनेको छ । न्यायालयमा प्रत्यक्ष राष्ट्रिय राजनैतिक प्रभाव र अप्रत्यक्ष अन्तराष्ट्रिय स्वार्थ केन्द्रको प्रभावले न्यायिक विकृति र विचलन चरम अवस्थामा पुगेको छ । न्यायालयमा देखिएको विकृति विसङ्गति र न्यायिक विचलन हटाएर न्यायालय प्रति जनविश्वास बढाउनु हामी सबैको कर्तव्य बन्न पुगेको छ । न्यायालयमा आलोचना होइन सुधारको आवश्यकता रहेको छ । कानुन खबर डटकमले कानुन र न्याय क्षेत्रका यी र यस्तै समग्र विषयलाई उठान गर्दै आम पाठकलाई सुसूचित गर्ने मुख्य उद्देश्य लिएको छ । हाम्रो समाचार सामग्री पढेर हामीलाई रचनात्मक सुझाव, सल्लाह र मार्गदर्शकका लागि आम पाठकसँगअनुरोध गर्छौँ ।