काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाश पाएका छन् । सर्वोच्च अदालतको न्यायाधीश ६५ वर्षसम्म मात्रै पदमा रहन पाउने संवैधानिक व्यवस्थाका कारण न्यायाधीश खतिवडाले अवकाश पाएका हुन।
शुक्रबार ६५ वर्ष लाग्ने खतिवडाले सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना न्यायाधीशका रुपमा काम गरेका छन् ।न्यायमा सुधारको पक्षधर मानिएका खतिवडाले सर्वाेच्चमा रहँदा गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् ।
न्यायाधीश रहँदा उनले संविधानको व्याख्या, फौजदारी न्यायका सिद्धान्त, संवैधानिक नैतिकता लगायत विषयमा विधिशास्त्रीय महत्वका नजिर प्रतिपादन गरेका थिए । न्यायाधीश खतिवडाले प्रतिनिधिसभा दोस्रो विघटनको मुद्दामा राय लेख्दै सरकार गठन प्रक्रिया, राष्ट्रपतिको अधिकार, वैकल्पिक सरकार गठन प्रक्रियाबारे सबिस्तार व्याख्या गरेका थिए । उनले संवैधानिक विवाद निरुपणका सबालमा दिएको उक्त राय कोशी प्रदेशसभामा सभामुखको अधिकार, उसको भूमिका र पदीय सीमितताका व्याख्यामा समेत नजिरका रुपमा प्रयोग भएको थियो ।
२०३९ चैतमा सरकारी वकिलबाट न्यायसेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल हुँदा जिल्ला न्यायाधीश बनेका थिए । २०६२ सालदेखि २०७१ सम्म पुनरावेदन अदालतको न्यायाधीशको रुपमा काम गरेका खतिवडाले दुई वर्ष मुख्य न्यायाधीश भएपछि सर्वोच्च अदालत प्रवेश गरेका थिए । जिल्ला र पुनरावेदन अदालतमा उनले करिब दुई दशक बिताएका खतिवडाले सर्वोच्चमा साढे सात वर्ष विताए । उनी केही महिना मात्रै वरिष्ठतम न्यायाधीशका रुपमा न्यायपरिषदको सदस्य बनेका थिए ।