सहकारी ठगीका आरोपित जीबी राईलाई मलेसियाबाट ल्याउन कूटनीतिक पहल शुरु 

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारी सहित विभिन्न सहकारी संस्थाको रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउन सरकारले कूटनीतिक पहल शुरु गरेको छ । उनी मलेसियामा लुकेर बसेको सूचनाका आधारमा नेपाल सरकारले मलेसिया सरकारलाई पत्र पठाउँदै राईलाई नेपाल ल्याउन पहल गरेको हो । 

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष राई सहित विभिन्न १९ जनाविरुद्ध बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतमा २०८० असोज १८ मा सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएको छ । आरोपित राईसहित १४ जना फरार छन्  भने प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन् । ठगीसम्बन्धी कसुरमा कास्की अदालतले राई सहितका अन्य अभियुक्तविरुद्ध साउन ४, असोज २ र असोज ७ मा पक्राउ अनुमति दिएको थियो । यसलगत्तै अध्यक्ष राई फरार थिए । उनी विरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगञ्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगञ्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । 

नेपाल प्रहरीको अनुरोधमा राई विरुद्ध इन्टरपोलले समेत माघ १२ मा डिफ्युजन र माघ २९ मा रेड नोटिस जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार दुई देशबीच सुपुर्दगी सन्धि नभएको कारण मलेसियाले आफ्नो देशमा लुकेर बसेका अभियुक्तलाई फिर्ता पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सोहीअनुसार नेपाल सरकारका तर्फबाट कूटनीतिक पत्राचार गरिएको हो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज