काठमाडौँ । ४२ दिनदेखि आन्दोलनरत मिटरब्याजपीडित र सरकारवीच चारबुँदे सहमति भएको छ । सोमबार बेलुका गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितीमा सरकारी वार्ताटोली र पीडितका प्रतिनिधिबीच चारबुँदे सहमति भएको हो । यो सहमतिसँगै मिटरब्याजपीडितको आन्दोलन स्थगित भएको छ ।
पीडितका समस्या समाधान गर्न सरकारले उच्चस्तरिय आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको बताइएको छ । सहमतिपत्रमा तेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा वार्ता समिति संयोजक,रुद्रप्रसाद पण्डित, उपसचिवद्वय विश्वराज न्यौपाने र एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् भने पीडितका तर्फबाट अवधेश कुशवाहा, आदित्य राम, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराम यादवले हस्ताक्षर गरेका छन् ।
सहमतिमा ‘जाँचबुझ आयोग ऐन, २०२६’ बमोजिम तीन महिनाभित्रमा सरकारसमक्ष प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय आयोग गठन गर्ने उल्लेख गरिएको छ । यो आयोगलाई सम्बन्धित विषयमा प्रमाण संकलन गर्न अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण, सर्जमिन, छलफल र साक्षी किनाराका व्यक्तिहरूसँग बयान लिने, लिखतहरूको वर्गीकरण गरी फर्जी तथा अवैध लिखतहरू खारेजीका लागि सिफारिस गर्ने, अनुचित लेनदेन गरी अस्वाभाविक ऋण लगानी गरेको वा शंकास्पद कागजात खडा गरी अस्वाभाविक आम्दानी गरेको देखिएमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानका लागि सिफारिस गर्ने अधिकारसमेत दिइएको छ । सहमतिमा यसअघिको आयोगले प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाँ उजुरीमाथि पुनः जाँचबुझ गर्ने बुँदा समेत उल्लेख गरिएको छ ।
त्यस्तै सहमतिमा ‘नभएको वा नगरेको रकम लिए दिएको भनी लिखत तयार गरेको, वास्तविक रकमभन्दा बढीको लिखत तयार गरेको, लेनदेन गर्दाको बखत ब्याजसमेत साँवामा जोडी लिखत तयार गरेको, ऋणीले तिरे बुझाएको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने गरेको, कानुनले तोकेभन्दा बढी ब्याज लिएको’ अवस्थाबारे छानबिन गर्ने, ‘ऋण असुलीका लागि कुनै धम्की दिएको, हिंसा वा शोषण गरेको, अनुचित लेनदेनका आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिएको, लेनदेनको कारोबारमा नलेखिएको (खाली) वा लिएको रकमभन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाएको र अनावश्यक लिखत खडा गरेको’ विषयमा पनि अनुसन्धान गर्ने कार्यादेश दिने लगायतका बुँदा समेत समेटिएको छ ।