काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सुन तस्करी प्रकरणमा उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।
बिहीबार सुन सम्बन्धी जाँच आयोगले बुझाएको प्रतिवेदनमा पुनलाई अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको उल्लेख गरिएको थियो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग दिपेशको व्यवसयीक साझेदारी र सम्बन्ध रहेको प्रमाण सार्वजनिक भएको थियो । तर सुन तस्करी प्रकरणमा प्रहरीले पुनसँग एक पटक सोधपुछ गरेपनि उनलाई अनुसन्धानको दायरामा ल्याएको थिएन ।
बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि पुनको नाम मुछिएको थियो । तर यो प्रकरणमा पनि उनलाई पक्राउन गर्ने र अनुसन्धानको दायरामा ल्याउने काम भएको थिएन । पुनलाई सुन वा सहकारी कुन प्रकरणमा पक्राउ गरिएको हो भन्ने प्रहरीले स्पष्ट पारेको छैन । स्रोतका अनुसार पक्राउ परेका पुनलाई रूपन्देही लगिएको छ ।