काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीमाथि छानबिन हुने भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त प्रकरणमा चौधरीमाथि छानबिनका लागि निर्देशन दिएका हुन । गृहमन्त्री लामिछानेको निर्देशनपछि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उक्त प्रकरणमा चौधरीको बयान लिने तयारी गरेको छ ।
यसैबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् ।
उक्त प्रकरणमा केही समय अगाडि चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए । अनुसन्धानपछि उनलाई धरौटीमा रिहा गरिएको छ ।