काठमाडौं । मिटरब्याज पीडितहरूका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासोको सम्बोधनका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अधिकारीस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तिमा मिटरब्याज पीडितहरूका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासोको सम्बोधनका लागि डेस्क स्थापना गर्ने र डेस्कमा खटिने कर्मचारीहरूको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न भनिएको छ ।
मन्त्रालयले मिटरब्याज पीडितहरूका गुनासो सम्बोधन गर्ने विषयमा समन्वयका लागि शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
मन्त्रालयले मिटरब्याज सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क नम्बर र [email protected] मा इमेल पठाउन सकिने उल्लेख गरेको छ। यसका साथै मन्त्रालयले ९८५१३६०६०३ मा भाइबर र ह्वाट्सएपमा म्यासेज पठाएर पनि गुनासो टिपाउन सकिने जनाएको छ । गुनासोका लागि टोल फ्री नम्बर १११२ र फोन नम्बर ०१४२११२५७ मा पनि सम्पर्क गर्न सकिने छ ।