काठमाडौं । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते फैसला सुनाउने भएको छ ।
आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण अग्राधिकार दिने आदेश समेत गरेको थियो ।
सोमबार न्यायाधीशहरु डा. कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा वि एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा परेको थियो । मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर चैत १२ गतेलाई निर्णय सुनाउने मिति तोकेको हो ।
प्रसाइले सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरिसक्दा पनि सरकारले अनुमति नदिएको भन्दै चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारलाइ विपक्षि बनाएर २०७७ साल असार २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।