बाँसबारी छालाजुत्ताको जग्गा सरकारीकरण, जग्गा हत्याउनेमाथि सीआईबीको अनुसन्धान जारी

काठमाडौं। सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा फिर्ता ल्याएको छ । सरकारले चौधरी समूहको च्याम्पियन फुटवेयर लिमिटेडका नाममा गएको जग्गालाई सरकारीकरण गरेको घोषणा गरेको छ ।

शुक्रबार भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसमक्ष डिल्लीबजार मालपोत अधिकृतले बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा औपचारिक प्रक्रिया पूरा गरेर फिर्ता ल्याएको बताए ।

मालपोत ऐनको दफा २०३४ को दफा २४ को उपदफा २ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारीकरण गरेको मालपोत अधिकृत छविलाल नेपालीले बताए ।

मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (२) मा ‘कसैले यो दफा प्रारम्भ हुनुभन्दा अघि वा पछि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आबाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार जग्गाको व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगत समेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्न पाउने अधिकार प्रयोग भएको उनले बताए ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपानी जग्गालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा थप अनुसन्धान गरेर सरकारीकरण गरेको मालपोत अधिकृत नेपालीले बताए । यो जग्गा हत्याउने चौधरी ग्रुपका अध्यक्ष अरुणकुमार चौधरीसहितका तत्कालिन कर्मचारीसँगको अनुन्धान भने सीआईबीले जारी राखेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले यसअघि उद्योगी चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरि अहिले हिरासतमुक्त गरिसकेको छ ।

च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका–३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायण सिंह थापा भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गामा अहिले सरकारले अनुसन्धान गरिरहेको छ । यही विषयमा सांसद विनोद चौधरीलाई पनि बयान लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज