काठमाडाै । रिट निवेदनअनलाइन मार्फत दर्ताकाे व्यवस्था हुने भएकाे छ । यसका लागि ल फर्महरूले अभिलेखिकरण गर्नुपर्ने भएकाे छ ।
सर्वोच्च अदालत सूचना प्रविधि समितिको मिति २०८० साल चैत्र ७ गते बसेको बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदनहरू अनलाइन प्रणाली मार्फत समेत दर्ता गर्न सकिने गरी प्रणाली विकास भइरहेको छ । उक्त प्रणाली चाँडै नै सुरुवात गर्न लागिएको छ ।
ल फर्महरूले उक्त प्रणालीमार्फत रिट निवेदन दर्ताको प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि ल फर्महरू प्रणालीमा अभिलेखीकरण गर्नुपर्छ । यसका लागि कागजातहरू संलग्न राखी तोकिएको फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन मित्र भौतिक रूपमा यस अदालतको रिट दर्ता शाखामा सम्पर्क गर्नुपर्ने छ ।
आवश्यक सम्पूर्ण कागजातहरू इमेल onlineregistration@ supremecourt.gov.np मा पठाई प्रणालीमा ल फर्म अभिलेखीकरण गर्न निवेदन पेस गर्न सकिने सूचना सर्वाेच्च अदालतले जारी गरेकाे छ ।
प्राप्त निवेदनहरू प्रणालीमा अभिलेखीकरण भए पश्चात् प्रणाली सचालनका लागि आवश्यक पर्ने प्रयोगकर्ता पहिचान तथा पासवर्ड एस.एम.एस. तथा इमेलमार्फत उपलब्ध गराइने पनि सर्वाेच्चले जारी गरेकाे सूचनामा उल्लेख छ ।
रिट निवेदनको अनलाइन मार्फत दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण सम्बन्धी फाराम सर्वोच्च अदालतको बेब साइट supremecourt.gov.np को सूचना खण्डबाट डाउनलोड गर्न सकिने पनि सूचनामा उल्लेख छ ।
निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु ल फर्म दर्ता तथा नवीकरण सम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि, कर प्रयाेजनका लागि फर्म दर्ता तथा नवीकरण सम्बन्धी कागजातहरुकाे प्रमाणित प्रतिलिपि चाहिन्छ । यसका साथै सञ्चालकहरूको नागरिकताको प्रमाणित प्रतिलिपि र कानून व्यवसायीकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने छ ।