काठमाडौं । वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण व्यवस्था सहित नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली, २०७४ दोस्रो संशोधन भएको छ ।
राष्ट्र बैंकले विनियमावली संशोधन मार्फत वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी विषयको निरीक्षण तथा सुपरीवेक्षणको काम वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्ने भएको छ ।
हाल गभर्नर कार्यालय अन्तर्गत रहेको उक्त महाशाखाले तोकिएको कार्य विवरण र कार्यविधि अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षणको काम गर्ने छ ।
उक्त कार्यका लागि महाशाखाले छुट्टै कार्यविधि बनाइ लागू गर्न सक्ने छ । महाशाखाले सम्बन्धित सुपरीवेक्षण विभागसँग समन्वय गर्नुपर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा विनियमावलीमा थप गरेको छ ।
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा सञ्चालनमा आइसकेको छ । सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण बैंक सुपरीवेक्षण विभाग अन्तर्गत रहँदै आएको थियो ।
अब महाशाखाका रूपमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी राष्ट्र बैंकबाट हुने सुपरीवेक्षण उक्त महाशाखाबाट हुने छ ।
राष्ट्र बैंकले सम्बन्धित सुपरीवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम् डेपुटी गभर्नरले नीति निर्देशन कार्यान्वयन समितिको अध्यक्षता गर्ने व्यवस्था विनियमावलीले गरेको छ ।
विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न बाधा भए गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था गरेको छ । तर, बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा त्यसको कारण र औचित्य समेत खुलाउनुपर्ने छ ।
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले तयार गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी स्थलगत निरीक्षण प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन् ।