मध्यस्थता सम्बन्धी ५ दिने तालिम सम्पन्न 

काठमाडौं । काठमाडौंमा सञ्चालन गरिएको ५ दिने मध्यस्थता सम्बन्धित तालिम सम्पन्न भएको छ । नेपाल मध्यस्थता परिषद् (नेप्का) र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा उक्त तालिमको आयोजना गरिएको थियो । 

तालिम समापन समारोहमा बोल्दै सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीश बालकृष्ण ढकालले नेपालमा मध्यस्थता सम्बन्धी कामको राम्रो सम्भावना रहेको भएपनि यो क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताउनु भयो । यस्ता तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने न्यायाधीश ढकालको भनाई थियो । 

नेपाल मध्यस्थता परिषद् परिषद्का अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले ५ दिने तालिमले मध्यस्थताका सवै पक्षलाई समेट्न नसकेपनि प्रशिक्षार्थीहरूलाई यो क्षेत्रमा अगाडि बढ्न सहयोग गर्ने बताउनु भयो । तालिमले मध्यस्थता गर्ने जनशक्ति मात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको छ, त्यसैले यसका लागि प्रशिक्षार्थीहरूको लगन पनि चाहिन्छ, अध्यक्ष अधिकारीले भन्नुभयो । 

उक्त अवसरमा नेपाल बार एशोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे, डेमोक्रेटिक लयर्स एशोसियसनका अध्यक्ष अधिवक्ता सिताराम के. सि., प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठनका अध्यक्ष, अधिवक्ता भोजराज आचार्य, गणतान्त्रिक प्रगतिशील कानून व्यवसायीका अध्यक्ष, रमण श्रेष्ठ, समाजवादी पेशागत कानून व्यवसायी सङ्गठनका अध्यक्ष डेकेन्द्र सुवेदी लगायतले आ आफ्नो मन्तव्य राख्दे प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा अधिवक्ता बाबुराम दाहालले मध्यस्थताबाट समाधान हुने मुद्दाहरू समेत अदालतमा गएर थुप्रिने गरेको भन्दै दक्ष जनशक्ति र पक्ष विपक्षलाई मध्यस्थताबाट समेत छिटो छरितो मुद्दाको निरुपण गर्न सकिन्छ भन्ने कुराको विश्वास दिलाउन सक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा  एडभोकेट सोसाइटी नेपालका अध्यक्ष अर्जुनप्रसाद ढकालले तालिम सञ्चालन गर्नुको उद्देश्यबारे प्रकाश पार्दै संस्थाले आगामी दिनमा समेत कानुनी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनकालागि थप तालिम कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो । 

उक्त अवसरमा तालिममा सहभागि प्रशिक्षार्थीहरूले तालिम निकै उपयोगी रहेको बताउँदै यसले आफूहरूलाई मध्यस्थकर्ताका रुपमा काम गर्न निकै महत्वपूर्ण उर्जा दिएको बताउनु भयो । एडभोकेट सोसाइटी नेपालका सचिव अनिल आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

चैत्र २० देखि २४ गते (पाँच दिन) सम्म चलेको उक्त तालिममा कानुन व्यवसायी, इन्जिनियर सहित ४२ जनाको सहभागिता थियो । विभिन्न विधाका विज्ञ प्रशिक्षकहरूले मध्यस्थता सम्बन्धी विभिन्न पक्षका बारेमा प्रशिक्षण दिनु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज