नेपाल इन्जिनियरिङ कलेज प्रकरण: लम्बोदर न्यौपाने दोषी ठहर

काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत् लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका हुन् ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेशी तोकिएको छ ।

२०७८ सालमा न्यौपानेसहित तत्कालीन कलेजका संस्थापक विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनालाई भने सफाइ दिइएको छ । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप थियो ।

उनले कलेजको अरबौं सम्पत्ति हत्याउन ठूलो षड्यन्त्र गरेका थिए । त्यसका लागि उनले नेपाल इन्जिनियरिङ कलेज प्रा. लि. नामक नक्कली कम्पनी समेत खडा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपक भट्टराईले लम्बोदर न्यौपानेको षड्यन्त्रको भण्डाफोर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित विभिन्न सरकारी निकायमा उजुरी दिएकोमा लम्बोदर अख्तियारको उजुरी तामेलीमा राख्न तत्कालीन अख्तियार आयुक्त राजनारायण पाठकलाई समेत ७८ लाख घुस खुवाएका थिए । सो प्रकरणमा समेत विशेषले उनलाई दोषी ठहर गरिसकेको छ ।

लम्बोदर न्यौपानेको कर्तुत सार्वजनिक भएपछि सांसदको शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार, सम्पत्ति शुद्धिकरण, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो समेतले छानविन गर्दै न्यौपानेले करोडौं सम्पत्ति शुद्धिकरण गरी आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेका थिए । भने, कलेज बचाउन शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुखको नेतृत्वमा कलेज सञ्चालक समिति गठन गरेको थियो । हाल कलेज सोही अनुसार सञ्चालन भइरहेको छ ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ ।

नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज