काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा स्थानीय सुष्मा लामाको हत्याको आरोपमा पक्राउ परेका रुपेन्द्र लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले बुधबार उनलाई कारागार चलानको आदेश दिएको हो ।
फागुन २४ गते तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा शव भेटिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गर्दा उक्त शव स्थानीय १८ वर्षिय सुष्मा लामाको भएको पुष्टि भएको थियो । प्रहरीले सुष्माको हत्याको आरोपमा चैत ३ गते रुपेन्द्रलाई पक्राउ गरेको थियो ।
रुपेन्द्रले प्रहरीमा दिएको बयानमा आफ्नो प्रेम अस्विकार गरेपछि सुष्माको हत्या गरेको बताएका थिए । प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेको थियो ।