काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार प्रदेश सभामा विश्वासको मत पाएका छन् । महराले ४८ मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले विश्वासको मत दिएका थिए ।
प्रदेश सभामा ३ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने ३ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १ १ जना विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।