काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । सुरक्षा समितिको शुक्रबार बसेको बैठकले १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको थियो ।
गत मङ्सिरदेखि स्थानीय प्रशासनले २ महिनाका लागि भनेर माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर निषेधाज्ञा हटेको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको जानकारी गराउँदै भनेका छन्, शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन। त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।
यसैबीच गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ । साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने मन्त्रालयले जनाएको छ।