विद्यालय हाताको रुख काटेर बेचेको अभियोगमा प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

पोखरा । सार्वजनिक गुठी अन्तर्गत सञ्चालित पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनालाई विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा डिभिजन वन कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । विद्यालय हाताभित्र रहेका सिसौ, सल्लालगायतका रुख काटेर बिक्री गरेको आरोपमा डिभिजन वन कार्यालयले खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरा महानगरपालिका–१६ मा रहेको उक्त विद्यालयको कम्पाउण्ड भित्र रहेका स्कुलभित्रका रूखहरू कटान गरी बिक्री गरेको भन्ने उजुरी परेपछि डिभिजन वन कार्यालयल छानविन गरेको थियो । छानविनकाक्रममा परिसरको खेलकुद ग्राउण्ड र छात्राबास छेउछाउ रहेका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोगमा उनीहरु विरुद्ध वन मुद्दा दायर गरिएको हो।

प्रधानाध्यापक वीरेन्द्र खड्कासमेतले रूख हटाउने स्वीकृती नलिई रूख कटान गरी दाउरा बेचबिखन गरेको भन्दै ३ लाख ७९ हजार ४०० बराबरको वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा उल्लेख छ ।

सूचना अधिकारी गौतमका अनुसार खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज