सम्पत्ति शुद्धीकरण मुद्दामा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना

काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई विशेष अदालतले एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई आइतबार १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुनेगरि ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको हो । न्यौपाने ज्येष्ठ नागरिक भएको कारण देखाउँदै विशेषले ठहर भएको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी एक वर्ष मात्र कायम हुने पनि आदेश गरेको छ ।

विशेष अदालतले न्यौपानेलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ७ चैत २०८० मा दोषी ठहर गरेको थियो । सजाय भने निर्धारण भएको थिएन ।

अध्यक्ष न्यौपानेले उक्त कम्पनीको सेयर पदमा बहाल रहेकै समयमा ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको र उनले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा एक करोड ९९ लाख रुपैयाँ बिगो माग दावी गर्दै गत २३ कात्तिकमा न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज