सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन 

भैरहवा । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । बचतकर्ताको उजुरीको आधारमा प्रहरीले सहकारीको बचत रकम हिनामिना सम्बन्धि अनुसन्धान थालेको थियो । करिव एक महिनाभन्दा लामो समय अनुसन्धान गरेर शुक्रबार प्रहरीले प्रतिवेदन बुझाएको हो । 

जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार अनुसन्धानपछि २८ जनालाई प्रतिवादी कायम गर्न रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको हो । 

प्रहरीका अनुसार अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । अहिलेसम्म प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा अहिलेसम्म प्रहरीले सहकारीका वर्तमान अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । मुख्य आरोपित राई भने फरार सूचीमा छन् । बुटवलमा मुख्य कार्यालय रहेको उक्त सहकारीमा सर्वसाधारणको अपचलन गरिएको १ अर्ब २ करोड बिगो मागदाबी भराउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज