काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीले काठमाडौं जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । सोमबार अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका गिरीलाई थुनामा पठाइएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि पनि गिरी पक्राउ नपरेको भन्दै पत्नी आरती रावलले आमरण अनशन थालेकी थिइन् ।
रावल र गिरीले ०७५ सालमा विवाह गरेका थिए । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन । कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।