सहकारीबाट २ करोड ऋण लिएको प्रमाण भेटिएपनि गृहमन्त्री लामिछानेलाई जोगाउँदै प्रहरी र सरकारी वकिल  

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएपनि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बचाएर जीबी राईसहित अन्य २८ जनालाई मात्रै प्रतिवादी  बनाइएको पाइएको छ । 

सहकारीका १ हजार ८ सय ३१ जना बचतकर्ताले आफ्नो बचत रकम हिनामिना भएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा इलाका प्रहरी बुटवलले सहकारी माथि छानविन गरेको थियो । अनुसन्धानका क्रममा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको पाइएको छ । छानविनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्र पेश गरेको छ । उक्त अभियोगपत्रमा रवी लामिछानेका नाममा २ करोड रुपैयाँ ऋण प्रवाह भएको उल्लेख गरिएको छ ।

सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा प्रहरीले तयार गरेको अभियोगपत्रमा गितेन्द्रबाबु राई सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ । जसमा २०७७ चैत १८ गते रवि लामिछानेका नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको उल्लेख छ । यो रकम सेवा शुल्क ४ लाख कट्टी गरेपछिको ऋण भएको उल्लेख छ । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो । जसको १५ प्रतिशत शेयर स्वामित्व रवि लामिछानेको नाममा थियो । प्रहरीले गरेको अनुसन्धानमा लामिछानेको नाममा २ करोड रकम गएको देखिएपनि प्रहरीले आफ्नो विभागीय मन्त्रीलाई प्रतिवादी बनाउने हिम्मत गरेको पाइदैन । अनुसन्धानमा देखिएको ऋण लगानीका बारेमा प्रहरीले लामिछानेमाथि सामान्य सोधपुछ सम्म पनि गरेको देखिदैन । 

सरकारी वकिलको कार्यालयले समेत प्रहरीले पठाएको प्रतिवेदन जस्ताको तस्तै जिल्ला अदालतमा पेशगरि लामिछानेका बारेमा मौन बसेको देखिन्छ ।  

सम्बन्धित समाचारः

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज