भैरहवा । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएर पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा आक्रोशित सहकारी पिडितहरुले गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै बुटवलमा प्रर्दशन गरेका छन् ।
सुप्रिम सहकारीपीडित संघर्ष समितिले सहकारीको रकम हिनामिनामा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन ।
बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले ट्राफिकचोकसम्म प्रर्दशन गरेका थिए । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा लामिछानेले सहकारीबाट दुइ करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ । अभियोग पत्रमा दोषि देखिएपनि लामिछानेमाथि कुनै अनुसन्धान नभएको भन्दै पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।
सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा १ हजार ८ सय २८ जनाले जाहेरी दिएका थिए । बचतकर्ताको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी अनुसन्धानमा सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको पाइएको थियो । प्रतिवेदनमा लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख गरिएको छ । लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नं. ०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिएको छ । लामिछानेले २ करोड ऋण लिँदा ४ लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ उनको खातामा जम्मा गरिएको पाइएको छ । लामिछाने हालसम्म पनि सुप्रिम सहकारीको ऋणी रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दुई करोड ऋणको किस्ता दुई पटक तिरिएको तर दुवै पटक सुप्रिम सहकारीकै बचत प्रयोग गरिएको प्रतिवेदनमा छ ।
संघर्ष समितिका संयोजक विजयकुमार नेपालले सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् ।
सम्बन्धित समाचारः
सहकारीबाट २ करोड ऋण लिएको प्रमाण भेटिएपनि गृहमन्त्री लामिछानेलाई जोगाउँदै प्रहरी र सरकारी वकिल
सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन