काठमाडौँ । विगत १५ वर्ष देखि नेपाली कांग्रेस सांसद दीपक खड्काले कब्जामा लिएको लैनचौरस्थित स्काउटको जग्गा र भवन जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारीलगायतको टोलीले उक्त जग्गा भएको क्षेत्रमा सिलबन्दी गरी नियन्त्रणमा लिएको हो ।
सांसद खड्काको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । स्काउटसँग ३ रोपनी जमिन भाडामा लिए पनि उनको कम्पनीले स्काउटको थप ९ रोपनी जमिन कब्जा गरेको थियो । उक्त जमिनमा व्यवसायीक भवन बनाएर अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि उनको कम्पनीले उक्त जमिन फिर्ता गरेको थिएन ।
सम्झौता सकिएर पनि जमिन फिर्ता नआएपछि स्काउटले २०७५ माघ १० मा खड्काको कम्पनीलाई जग्गा खाली गराउन निर्देशन दिएको थियो । स्काउटको उक्त जग्गासम्बन्धी विवाद जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो । काठमाडौं जिल्ला अदालतले कम्पनीकै पक्षमा आदेश दिए पनि २०७९ असार १३ मा उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै स्काउटको पक्षमा फैसला गरेको थियो। उच्च अदालत पाटनले जमिन फिर्ता गर्नुपर्ने फैसला सुनाएको थियो । तर पनि खड्काले सत्ता र शक्तिको आडमा जमिन फिर्ता गरेका थिएनन । स्काउटका अनुसार सांसद खड्काको कम्पनीले जमिनमा विभिन्न संरचना बनाएर भाडामा लगाएर आम्दानी लिए पनि सम्झौता अनुसार स्काउटलाई जमिन भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ समेत भुक्तानी गरेका छैनन।
प्रशासन र प्रहरीको टोली दिउँसो नै लैनचौरस्थित उक्त जमिन सिल गर्न पुगे पनि त्याहाँ रहेको ब्यांकेटमा विवाहको पार्टी चलिरहेकाले राति मात्रै सिल गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए का छन्।
आफ्नो जग्गा फिर्ता दिन स्काउटले पटकपटक आग्रह गरे पनि अटेरी गरेर कानुनविपरीत नियन्त्रणमा लिइरहेको देखिएपछि प्रशासनले सिल गरेर सरकारी जग्गा आफ्नो नियन्त्रणमा लिएको प्रशासन कार्यालयले जनाएको छ । प्रजिअ बस्नेतका अनुसार हडपिएको जमिन नियन्त्रणमा लिएर प्रहरीको सुरक्षामा राखिएको छ । प्रक्रिया पूरा गरेर उक्त जग्गा स्काउटलाई नै हस्तान्तरण गरिने छ ।