काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा शुक्रबार थुनछेक बहसका क्रममा अध्यक्ष गुरुङ बाहेकका ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हो ।
अदालतले दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतमा उपस्थित नभएका अन्य प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।
सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको करिब एक अर्ब रुपैयाँ बचत अपचलन गरेको भन्दै सहकारीका प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अध्यक्ष गुरुङसहित ७ जनालाई विभिन्न समयमा पक्राउ गरेको थियो ।