काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा पछि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए । सोही दिन एमाले र माओवादीको समर्थन लिएर नाउपाकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एकै दलका दुई फरक फरक नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको भन्दै प्रदेश प्रमुख नजिर मियाँले बैशाख ४ गतेसम्मका लागि समय दिएका थिए ।
सत्ता गठबन्धनकाबीचमा नयाँ सहमति भएपछि समाजवादीका सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर एमाले, माओवादी, नाउपा (कैलाश चौधरी पक्ष) समेतको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै सोडारीको नियुक्ति बदर गर्नु पर्ने माग सहित नाउपाका लक्ष्मणकिशोरले सर्वोच्चमा रिट दायर गरेका हुन।
आफूले मुख्यमन्त्रीमा दावी पेस गरेको बताउँदै चौधरीले सोडारीलाई आफ्नो संसदीय दलले समर्थन नगर्ने दाबी गरेका छन्। रिटमा उनले भनेका छन्, ‘‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गठन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्यूत भई मलाई सो अवसरबाट जवरजस्त वञ्चित गरिएको छ। साथै राप्रपाकी खेमादेवी विष्टको समर्थन समेत पेस गरेको अवस्थामा दाबी पेस गर्न दुई दिन समय थप्नु गैरसंवैधानिक भएको उनले दाबी गरेका छन् ।
उनले मुख्यमन्त्रीमा सोडारीको नियुक्त समेत गैरसंवैधानिक भएको जिकिर गरेका छन् । सोडारीले पेस गरेको दाबीमा नाउपाका कैलाश चौधरीले संसदीय दलको नेताको हैसियतमा हस्ताक्षर गरेको भए पनि दुई सांसदमात्र रहेको उनको दाबी छ । एकीकृत समाजवादीका चार सांसद भने पनि एक जनाको मात्र हस्ताक्षर रहेको भन्दै उनले यसलाई अस्वीकार गर्नुपर्ने उनले बताएका छन् ।
चौधरीको रिटको पेसी भोलि सोमबारका लागि तोकिएको छ ।