काठमाडौं । सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आउन लागेका हुन हो । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन् ।