काठमाडौं । वारिसनामाको दस्तखत किर्ते गरी कागजात बनाएर अदालतमा मुद्दा दर्ता गरेको भन्दै कञ्चनपुर अधिवक्ता नरेन्द्र बहादुर सिह सहित चार जना विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा किर्ते जालसाजी मुद्दा दर्ता भएको छ । अधिवक्ता सिह कञ्चनपुर जिल्ला बार एसोसिएसनका अध्यक्ष हुन् ।
काठमाडौं जिल्ला अदालतमा विचाराधीन लेनदेन मुद्दाका प्रतिवादी भीमदत्त नगरपालिका १५ गोबरैयाका सीतादेवी भट्टको तर्फबाट वारिस निरञ्जन प्रसाद भट्टले ज्योति सहित सिन्धुपाल्चोकका नवराज ज्योति, कञ्चनपुर भीमदत्त नगरपालिका ८ का तुल बहादुर थापा मगर र भीनपा १९ का अधिवक्ता नरेन्द्र बहादुर सिह विरुद्ध मुद्दा दायर गरेका हुन् ।
चैत २५ गते अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गरिएको थियो । अदालतमा दर्ता फिरादपत्रमा काठमाडौं जिल्ला अदालतको मिसिल संलग्न तारेख पर्चा र नक्कली वारिसनामाको दस्तखत किर्ते गरी कागजात बनाएर अदालतमा पेश गरिएको फिरादपत्रमा आरोप लगाइएको छ ।
फिरादपत्रसँगै रेखा तथा लेखा विशेषज्ञ अधिवक्ता केशव बहादुर थापा क्षेत्रीले प्रमाणित गरेको कागत संलग्न राखिएको छ ।
कञ्चनपुर जिल्ला अदालतका स्रेस्तेदार ताराप्रसाद जोशीले चार जना विरुद्ध किर्ते जालसाजीमा मुद्दा दर्ता भएको जानकारी दिए । ‘किर्ते जालसाजीमा मुद्दा दर्ता भएको छ, यो भन्दा बढी केही जानकारी दिन सकिदैन’ उनले भने, ‘अदालती प्रक्रिया अनुसार प्रक्रिया सुरु हुन्छ ।’
भीमदत्त नगरपालिका १५ का भट्टले २०६६ मा गोबरैयामा वसन्ती पन्तबाट एक बिगाहा किनेका थिए । पन्त सहितका जग्गाको प्लटको विवादका कारण भट्ट परिवारले रकम दिएर पनि नामसारी हुन रोकिएको थियो । सर्वोच्चको फैसलापछि आएपछि तत्काल भट्ट परिवारको नाममा जग्गा पास भएको थियो ।
मालपोत कार्यालय कञ्चनपुरबाट जग्गा भट्टको नाममा पास भएपछि सिन्धुपाल्चोकका ज्योतिले आफूले वसन्ती पन्तका श्रीमान अभयराज पन्तलाई जग्गाका लागि ५० लाख दिएको भन्दै जिल्ला अदालत काठमाडौंमा लेनदेन मुद्दा दर्ता गरेका थिए । त्यसपछि काठमाडौं जिल्ला अदालतले मुद्दालाई कञ्चनपुर जिल्ला अदालत पठाएको थियो । कञ्चनपुर जिल्ला अदालतमा मुद्दा आएपछि नक्कली कागजात तयार गरी किर्ते जालसाजी गरिएको भन्दै भट्टले अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गराएका हुन् ।
यस विषयमा अधिवक्ता नरेन्द्र बहादुर सिहले कानुनखबरसँग आफूले आफ्नो व्यवसायिक धर्म अनुसारको काम गरेको दाबी गरे । उनले भने, मैले गेरको काठमाडौंबाट बनेर आएको अधिकृत वारेसनामा प्रमाणित गरेको हो । मैले अधिकृत वारेसनामा प्रमाणित गर्दा त्यसमा साक्षी बस्नेहरूसँगै आएका थिए । मैले मेरो व्यवसायिक धर्म मात्रै निभाएको हो । यसमा मैले कुनै किर्ते वा जालसाजी गरेको छैन ।