काठमाडौं । रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो। अदालतले घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ दिएको छ भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।
थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
जिल्ला अदालतमा आलमविरुद्धको यो मुद्दामा विगत तीन दिनदेखि जारी बहस बिहीबार सकिएको थियो । मुद्दामा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की र पुष्पराज पौडेलले बहस गरेका थिए । भने प्रतिवादी आलमका तर्फबाट नेपाल बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अजय पटेल, मजरुल हक, सञ्जीव मल्लिक, साबिर हुसैन लगायतले बहस गरेका थिए ।